गोरखा — सिरानचोक गाउँपालिका–४ आरुवोटेस्थित फिरफिरे भीरमा स्करपियो जिप खस्दा ८० वर्षीय वृद्धसहित तीन जनाको मृत्यु भएको छ । नवलपरासी पूर्व कावासोती नगरपालिका–१४ का ८० वर्षीय उत्तर कुमार सिग्देल, बारपाक सुलीकोट गाउँपालिका–६ चनौटेका ५० वर्षीय देवीप्रसाद पोखरेल,

काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने ५० वर्षीय पदम न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख (एसपी) केदार खनालले बताए । चितवनबाट जन्ती आएको बा १४ च ७८१ नम्बरको गाडी सोमबार दुर्घटनामा परेको हो ।

पार्किङ गरेर राखेको अवस्थामा गाडी गुडेर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको एसपी खनालले बताए । खनालका अनुसार शवलाई पोष्टमार्टमका लागि सोमबार राति गोरखा अस्पताल ल्याउने तयारी भइरहेको छ। दुर्घटनापछि भरतपुर महानगरपालिका–२७ धर्मपुर बस्ने चालक घनश्याम काफ्लेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् आर्थिक प्रलोभनमा पर्ने कसैलाई छाडिँदैन स् सशस्त्र प्रहरी महानिरीक्षक सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक राजु अर्यालले प्रहरी कर्मचारीको सरुवा, बढुवा, मिशनलगायतका कार्यहरु वैज्ञानिक र पारदर्शी ढङ्गले अगाडि बढाउँदै सङ्गठन सुदृढीकरणमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।

काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेपछि आयोजित समारोहमा सशस्त्र प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्दै उहाँले कार्यक्षेत्रमा परिचालित रहँदा फौजी संस्कारको बर्खिलापमा नलाग्न निर्देशन दिनुभयो ।

उहाँले आर्थिक प्रलोभनमा परी गलत क्रियाकलापमा संलग्न भएको पाइएमा त्यस्ता कर्मचारीलाई कुनै पनि हालतमा नछाडिने बताउँदै कमाण्डर तहका अधिकृतहरुलाई कार्ययोजनाका साथ अघि बढ्न आग्रह गर्नुभयो छ । महानिरीक्षक अर्यालले व्यक्तिगत स्वार्थलाई थाँती राखी राष्ट्र र सङ्गठनले लिएको लक्ष्य प्राप्तिमा एकजुट भई सामूहिक भावनका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले ‘वान जनरल वान कन्सेप्ट’ को नीति लागू गरी सङ्गठनलाई अगाडि बढाइने उल्लेख गर्दै सशस्त्र प्रहरी कर्मचारीको हितका लागि मौजुदा कल्याणकारी कार्यलाई समयसापेक्ष परिमार्जन गरिने बताउनुभयो । यही वैैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेकाले कार्यक्षेत्रमा खटिँदा सभ्य र अनुशासित भई जिम्मेवारीका साथ प्रस्तुत हुन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!