काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई ‘लौरो’ चुनाव चिह्न प्रदान गरिएको छ। आज उनलाई निर्वाचन अधिकृतको कार्यालयले ‘लौरो’ चुनाव चिह्न प्रदान गरेको हो। शनिबार देशभर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न दिएको छ।

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएकाे छ। शुक्रबार साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएकाे हाे।

यही वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्ता नलिएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेकाे निर्वाचन आयोगले जनाएको छ। निर्वाचन अधिकृतले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेका छन्। राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलका उम्मेदवारलाई मतपत्रको क्रमसङ्ख्या १ देखि ६ सम्म कायम निर्वाचन चिह्न प्रदान गरेकाे आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले)को ‘सूर्य’, दोस्रोमा नेपाली कांग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र)को ‘गोलाकार हँसिया हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौँमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौँमा नेकपा (एकीकृत समावादी)को ‘कलम’ चिह्न रहेको छ। उम्मेदवारको मनोनयन फिर्ता लिन शुक्रबार अपराह्न ५ बजेसम्मको समय तोकिएको थियो।

स्थानीय तह सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये करिब चार हजारले आफ्नो उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ। यही वैशाख ३० गते हुने निर्वाचनका लागि ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला गरी कूल एक लाख ५३ हजार २२० जनाको उम्मेदवारी कायम भएको छ। नगर प्रमुखमा तीन हजार २४९ पुरुष र २६८ महिला गरी

तीन हजार ५१७, उपप्रमुखमा ६०७ पुरुष र एक हजार ५६८ महिला गरी दुई हजार १७५, गाउँपालिका अध्यक्षमा तीन हजार १४९ पुरुष र १९८ महिला गरी तीन हजार ३९२ तथा उपाध्यक्षमा ६१६ पुरुष र एक हजार ७९१ महिला गरी दुई हजार ४०७ जनाको उम्मेदवारी टुङ्गो लागेको छ।

यसैगरी वडाध्यक्षमा ३४ हजार ३५० पुरुष र एक हजार ५० महिला गरी ३५ हजार ४००, महिला सदस्यमा २६ हजार ५७५, महिला दलित सदस्यमा २३ हजार ९६२ तथा सदस्यमा ५३ हजार २३७ पुरुष र दुई हजार ५५८ महिला गरी ५५ हजार ७९५ जनाको उम्मेदवारी कायम भएको आयोगले जनाएको छ।

७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि निर्वाचन हुँदैछ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!